प्रहरी चौकीको अभाव

एविसि खबर
जाजरकोट, २० फागुन । द्वन्द्वको बेला विस्थापित भएको प्रहरी चौकीको पुनः स्थापना गर्न जाजरकोटको भुरका स्थानीयले माग गरेका छन् । उनीहरुले प्रहरी चौकी निर्माणका लागि बरु घडेरी दिन तयार रहेको बताउँदै जसरी नी प्रहरी चौकी चाहिएको बताएका छन् । पोख्राका स्थानीयवासीले भवन निर्माणका लागि घडेरी दिन्छौँ भन्दै पुनः चौकी स्थापना गर्न माग गरेको स्थानीयवासी भक्ति शर्माको भनाइ रहेको छ ।

प्रहरी चौकी नहुँदा यहाँ धेरै आपराधिक गतिविधि हुनुका साथै शान्ति सुरक्षासमेत प्रभावित हुँदै आएको शर्माको भनाइ छ । प्रहरी चौकी निर्माण गर्नका लागि दुई रोपनी जग्गा दिनेसमेत शर्माले बताए । उनीहरुले फागुन १९ गते प्रहरी चौकी निर्माण गर्नका लागि घडेरी हेर्न जाजरकोटका प्रहरी प्रमुख दानबहादुर मल्ललाई पोख्राका स्थानीयवासीले बोलाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरी चौकी निर्माणका लागि धेरै जग्गा दिने स्थानीयवासी भेटिएको मल्लले जानकारी दिएका छन् ।

उनले आधा दर्जन गाउँमा प्रहरी चौकी नहुँदा स्थानीयवासी न्याय निसाफ खोज्न एक दिन हिँडेर जगतीपुरको कुदुमा आउने बताए । कुनै घटना हुँदा कुदु प्रहरी चौकीबाट पोख्रा, भुर, कालाभुरलगायतका दर्जन ठाउँमा जान प्रहरीलाई समेत दिनभरि लाग्ने गरेको एमाओवादी जाजरकोटका अध्यक्ष पूर्णदेव शर्माले बताए । शर्माकै गाउँ रहेको यो ठाउँमा प्रहरी चौकी छिटो स्थापना गर्न स्थानीयवासीले माग गरेका छन् ।

स्थानीयवासीको मागअनुसार छिट्टै पोख्रामा प्रहरी चौकी स्थापना गरिने प्रहरी प्रमुख मल्लले जानकारी दिए । भवन निर्माणका लागि जग्गा पास गरेर चैत महिनाभित्र प्रहरी चौकी स्थापना गरिने उनले बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment