पर्वतारोहणका लागि दुई वर्ष मिनाहा

एविसि खबर

काठमाडौं, १८ फागुन । सरकारले पर्वतारोणको अनुमति लिएका तर भूकम्पका कारण स्थगित भएका व्यक्तिका लागि आरोहण गर्न दुई वर्षका मिनाहा गर्ने भएको छ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को दोस्रो वार्षिक साधारणसभाको उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले हिमाल आरोहणका लागि अनुमति लिएका तर आरोहण गर्न नपाएका आरोहीका लागि दुई वर्ष मिनाहा गर्ने व्यवस्था गरेको बताएका छन् ।

‘सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा पर्वतारोहण गर्न अनुमति लिएका तर भूकम्पका कारण स्थगित भएर समय सकिएका पर्वतारोहीलाई दुई वर्षका लागि मिनाहा गर्ने निर्णय भएको छ’ पर्वतारोहण लागि शुल्क बुझाइसकेका तर भूकम्पका कारण आरोहणको समय सकिएको भए पनि त्यही शुल्कबाटै पर्वतारोहीलाई दुई वर्षका लागि जान दिने व्यवस्था गरेको हो । भूकम्पपश्चात् सरकारले पर्वतारोहणका लागि स्थगित गरेको थियो ।

नेपालको अर्थतन्त्रको मरुदण्ड पर्यटन नै पहिलो क्षेत्र भएकाले त्यसका लागि सरकारले कानुनी र व्यावहारिक रुपमा भएका त्रुटि र कमीकमजोरीलाई सच्याएर अगाडि जान मन्त्रालय तयार रहेको बताएका छन् । नेपाल पर्यटकीय गन्तव्य हो, नेपालको गरिबी निवारण र अर्थतन्त्रको आधार पनि पर्यटन नै हो, राम्रो स्वागत–सत्कार गरेर पर्यटकलाई आकर्षित गर्ने काम सबैले गर्नुपर्छ । पछिल्लो समयमा दुईवटा विमान दुर्घटनाले निकै दुःखी बनाएको भन्दै मन्त्री पोखरेलले जहाज दुर्घटना हुनुका कारण खोजी सुधार गर्न विगत १० वर्षका अवस्था अध्ययन गरिरहेको बताए ।

दुर्घटना हुनुका सत्यतथ्य पत्ता लगाउन दुवै दुर्घटनाको छानबिन समिति गठन भइसकेको हुनाले यर्थात जतिसक्दो छिटो सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

Facebook Comments

Related posts

Leave a Comment