महाधिवेशनको तयारीमा कांग्रेस

congressएबिसि खबर
काठमाडौं, १९ फागुन । २० फागुनबाट सुरुहुने कांग्रेसको १३ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन तयारीका लागि काठमाडौँ जिल्ला सभापतिको संयोजकत्वमा गठित महाधिवेशन व्यवस्थापन समितिले सोमबार साँझदेखि काठमाडौँ जिल्लाभर बिजुलीका खम्बामा झन्डा राख्न सुरु गरेको सभापति कृष्ण (सबुज) बानियाँले बताएका छन् ।

महाधिवेशनको तयारीका बारेमा कुरा गर्दै सभापति बानियाँले काठमाडौँ जिल्लामा मात्र कुल पाँच हजारभन्दा बढी झन्डा राखिने बताएका छन् । जिल्लाभर काँग्रेसका झन्डा, द्वार र नेता कार्यकर्ताका सम्पर्क कार्यालयमा राखिएका ब्यानरका कारण मात्र हैन मुलुकभरबाट राजधानी आएका महाधिवेशन प्रतिनिधिलगायत नेता कार्यकर्ताका गाडीमा राखिएका झन्डा र ब्यानरले काठमाडौँमा महाधिवेशनको रौनक थपेको छ ।

समितिले कलङ्की, एयरपोर्ट, कोटेश्वर, बबरमहल, त्रिपुरेश्वर, भृकुटीमण्डप, रत्नपार्क क्षेत्रमा ठूला सात वटा द्वार बनाउँदैछ । त्यस्तै, उद्घाटन हुने स्थल खुलामञ्च, बन्दसत्र हुने भृकुटीमण्डप र निर्वाचन हुने राष्ट्रिय सभागृहमा आवश्यक तयारी अन्तिम चरण पुगेको उनले बताए । यसबाहेक उपत्यकाका ललितपुर र भक्तपुरमा पनि सम्बन्धित जिल्ला कार्यसमितिले द्वार बनाउने, झन्डा राख्नेलगायतका काम गरिरहेका छन् । त्यस्तै महाधिवेशनको तयारीका लागि गठन गरिएका अन्य विषयगत सबै समितिको जिम्मेवारी पनि अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।

कार्यवाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा रहेको नीति तथा कार्यक्रम समितिले महाधिवशेनका लागि पेस गरेको पार्टीको नीति तथा कार्यक्रमलाई केन्द्रीय समितिले पारित गरिसकेको छ । विधान संशोधन समितिले विधान संशोधनका लागि मस्यौदा तयार पारेको भए पनि अब यस महाधिवेशनमा विधान संशोधन नहुने निश्चित भएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालको संयोजकत्वमा रहेको प्रचारप्रसार समितिले विभिन्न उपसमिति बनाएर जिम्मेवारीको बाँडफाँड गरेको छ । समितिले अधिकांश काम गरिसकेको र बाँकी काम अन्तिम चरणमा पुगेको समितिका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य बद्री पाण्डेले बताए ।

पूर्वअर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा रहेको अर्थ समिति पनि अन्य समिति झैँ सक्रिय छ । समितिले बाहिरबाट चन्दा तथा सहयोग सङ्कलनभन्दा पनि आन्तरिक रुपबाटै स्रोत जुटाउने कसरत गरिरहेको समितिका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य डा नारायण खड्काले जानकारी दिए ।

देश विदेशबाट महाधिवेशनका लागि आउने प्रतिनिधि, पर्यवेक्षक, पाहुना, सहयोगीलगायतलाई खाने र बस्ने व्यवस्थाका लागि आवास तथा भोजन व्यवस्थापन समितिले तीव्र रूपमा काम गरिरहेको छ । काठमाडौँका चार स्थानमा होटल बुकिङ गर्ने काम सुरु भएको समितिका संयोजक बलबहादुर केसीले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment