आगलागीपीडित राहत रकम

एविसि खबर
खोटाङ, १९ फागुन । खोटाङको दिक्तेल रत्नपार्कमा भएको आगलागीबाट पीडित प्रहरी र स्थानीयवासीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले राहत रकम प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइको दरबन्दी रहेका प्रहरीबाट प्रतिव्यक्ति २ दूईसयका दरले जम्मा गरिएको रकम ७१ हजार एकसय रुपैया रकम आगलागीपीडित प्रहरी र स्थानीयवासीलाई उपलब्ध गराईएको हो ।

रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रको कार्यालयमा मंगलबार कार्यक्रम गरी आगलाग पीडित प्रहरी नायब निरीक्षक विश्वेश्वर साह, प्रहरी हवल्दार बमबहादुर राय क्षत्री र उनकी श्रीमती प्रहरी जवान सरिता राय क्षत्री, प्रहरी हवल्दार शिवप्रसाद घिमिरे तथा स्थानीय हीरालाल पुरीलाई राहत रकम प्रदान गरिएको छ ।

गत पुस–२ गते विद्युत् प्रवाहमा समस्या हुँदा स्थानीय हीरालाल पुरीको घरबाट सुरु भएको आगलागीमा परि उनीहरुको नगद, गरगहना, लत्ताकपडालगायत सम्पूर्ण सामग्री जलेर गुमाएका डेरावाल प्रहरीलाई राहत प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले कार्यालय तथा मातहतबाट संकलन भएका रकममध्ये प्रहरी हवल्दार बमबहादुर र प्रहरी जवान सरिता दम्पतीलाई ६४ हजार एकसय रुपैयाँ, प्रहरी नायब निरीक्षक साह र प्रहरी हवल्दार घिमिरेलाई तीन÷तीन हजार दिएको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिएका छन् ।

यस्तै, काठमाडौमा स्नातकोत्तर अध्ययनरत दिक्तेल रत्नपार्ककी कुसुमलता श्रेष्ठको पहलमा संकलन भएको छ हजार एकसय पचास रुपैयाँ रकम पनि आगलागीपीडितलाई प्रदान गरिएको छ । श्रेष्ठले आफू र आफ्ना २८ जना साथीबाट संकलन गरेर पठाएको रकममध्ये प्रहरी हवल्दार रायक्षत्री दम्पतीलाई तीन हजार र स्थानीय हीरालाललाई तीन हजार एकसय पचास रुपैयाँ प्रदान गरिएको छ । संकलित रकम अग्नीपीडित प्रहरी र स्थानीयवासीलाई राप्रपा नेपालका जिल्ला अध्यक्ष रहेका कुसुमलताका बुबा जीवन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्का, र प्रहरी नायब उपरीक्षक माझीलगायतले प्रदान गरेका हुन् ।

सो आगलागीमा दिक्तेल रत्नपार्कका पाँच घरमूली र भाडामा बसेर पेसा व्यवसाय गर्दै आएका १० परिवारसहित १५ परिवारको पाँच करोड २७ लाख पाँच हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो । आगलागी पीडित परिवारलाई उद्योग वाणिज्य सङ्घ, नेपाली काँग्रेसलगायतले यसअघि नै राहत रकम प्रदान गरेका थिए ।

Facebook Comments

Related posts

Leave a Comment