एएफसी यू–१९ छनोटका लागि टोली घोषणा

काठमाडौं, १२ असोज
अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसियासी फुटबल महासंघ (एएफसी) यू–१९ च्याम्पियनसिपको छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
एन्फाले छनोट प्रतियोगिताका लागि विमल घर्तीमगरको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । छनोट प्रतियोगिता १५ देखि १९ असोजसम्म इरानमा हँुदै छ । नेपाल आयोजक इरान, जोर्डन र कुवेतसहित समूह ईमा परेको छ ।
नेपाली टोलीमा गत महिना काठमाडौंमै पहिलो दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपको उपाधि विजेता टोलीबाट दुई खेलाडी परिवर्तन भएका छन् । डिफेन्डरद्वय आकाश थापा र गौरव बुढाथोकी चोटका कारण टोलीबाट बाहिरिएका छन् । उनीहरूको स्थानमा प्रशिक्षक बालगोपाल महर्जनले सिद्धार्थ रञ्जित र रामचन्द्र वाजीलाई टोलीमा समावेश गरेका छन् ।
नेपाली टोलीको अफिसियलमा कुनै परिवर्तन भएको छैन । मुख्य प्रशिक्षकमा महर्जन रहेका छन् भने सहायक प्रशिक्षकमा सुनील श्रेष्ठ तथा गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र रहेका छन् । टोलीको व्यवस्थापकमा दिवाकर घले तथा फिजियोमा राजु दाहाल रहेका छन् ।
यू–१९ र यू–१६ टोली पुरस्कृत
काठमाडौं/ एन्फाले पहिलो साफ यू–१९ च्याम्पियनसिप जितेको तथा एसियाली फुटबल महासंघ (एएफसी) यू–१६ च्याम्पियनसिपका लागि छनोट भएका दुवै नेपाली टोलीलाई पुरस्कृत गरेको छ । एन्फाले यू–१९ टोलीका २३ खेलाडी, तीन प्रशिक्षक र फिजियोथेरापिस्टलाई जनही दुई लाख रुपैयाँ प्रदान गर्‍यो ।
एन्फाले म्यानेजर दिवाकर घलेलाई भने आर्थिक पुरस्कार प्रदान गरेन । यस्तै, एन्फाले यू–१६ टोलीका २३ खेलाडी, दुई प्रशिक्षक र फिजियोलाई जनही ५०–५० हजारले सम्मान गर्‍यो ।

नयाँ पत्रिका

Facebook Comments

Related posts

Leave a Comment