एमाले कार्यक्रममा अधयक्षको कार्यशैलीको कडा विरोध

एबिसि खबर
cpnumlकाठमाडौं, १९ माघ । एमालेका कार्यक्रममा पार्टीकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कडा विरोध जनाइएको छ । । ‘राष्ट्रिय विमर्श–संविधानको कार्यान्वयन, राष्ट्र र पार्टी निर्माण’ नामक विषयमा मदनभण्डारी अध्ययन केन्द्रको आयोजना भएको सो कार्यक्रमका वत्ताहरूले पार्टी अध्यक्ष ओलीको शैलीप्रति विरोध जनाउँदै उछित्तो काढेका हुन् । सो कार्यक्रममा ओली पक्ष भनेर चिनिएका कसैको सहभागिता थिएन । त्यस कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उप–महासचिव घनश्याम भुषाल, लालबाबु पण्डित, रामकुमारी झाँक्रीलगायतले सम्वोधन गरेका थिए ।

कार्यक्रममा सम्वोधन गर्दै एमाले नेता नेपालले विकास निर्माण सम्वन्धी कुरा नबुझी प्रधानमन्त्रीले बाहिर बोल्न हतार गर्न नहुने बताए । ‘स्वीडेनमा हावाबाट विजुली निस्कियो, कतिपयलाई लाग्छ यहाँ पनि निस्कन्छ,’ नेपालले भने, ‘तर अध्ययन नै नगरी त्यहाँ निस्कियो त्यसैले यहाँ पनि निस्कन्छ भनेर बोलिहाल्नु हुँदैन । कति निस्कन्छ र कसरी निस्कन्छ त्यसको अध्ययन हुनुपर्छ । हामीकहाँ अनेक माफिया आउँछन् नयाँ कुरा लिएर ।’ उनले राज्यमा तथा विकास निर्माणका समस्या बुझ्न प्रधानमन्त्रीहरूलाई समस्या पर्ने गरेको बताए । ‘यस्ता समस्याहरू बुझ्दाबुझ्दै आफ्नो प्रधानमन्त्री काल सकिन्छ,’ उनले भने ।

नेपालले जनताको भावना विपरित सीमांकन संशोधन गर्न नसकिने चेतावनी दिए । आन्दोलनका नाममा केहि मान्छेले होहल्ला र तोडफोड गरेका भरमा त्यो संभव नहुने उनको भनाई थियो । देशका विभिन्न कुनामा राष्ट्रियता र अखण्डताविरोधी क्रियाकलापहरू भइरहेको भन्दै नेपालले यसप्रति चनाखो रहन पनि आग्रह गरे । अखण्डताविरोधीहरूले नेपालको इतिहासका विषयमा जनतामा भ्रम छर्दै हिँडेको पनि उनले आरोप लगाए । चुनावमा जनताबाट तिरस्कृत दलहरूले केहीमा भ्रम छर्ने काम गरेको भन्दै त्यसको पछि नलाग्न उनले आग्रह गरे । ‘मतादेश नभएकाहरूले जनादेशका नाममा लाठी उठाए वा होहल्ला गरे भन्दैमा उनीहरूका सबै माग पुरा गर्न सकिदैन । हामीले मतादेशलाई नै मान्ने हो,’ उनले भने । नेता नेपालले पृथ्वीनारायण शाह र महेन्द्रको उचित मूल्यांकन हुन नसकेको पनि औंल्याए । छिन्नभिन्न भएको देशलाई एकतावद्ध बनाउने काम पृथ्वीनारायण शाहबाट भएको भन्दै नेपालले, उनले खेलेको यस्तो भूमिकालाई स्वीकार गर्नुपर्नेमा जोड दिए । ‘कीर्तिपुरवासीको नाक काटेर तराजुमा जोख्दा यति धार्नी भयो भनेर एक जना ब्रिटिश इतिहासकारले लेखिदिए र कतिपय मानिसहरू त्यसैका पछि कुदे,’ नेपालले भने, ‘यस्ता दुष्प्रचारहरूबारे जनतालाई प्रष्ट पार्नु पनि हाम्रो दायित्व हो ।’

पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालले पनि कार्यक्रममा सम्वोधन गरे । कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले चिनिया तेङ स्याओ पिङको उदाहरण दिँदै नेपालमा पनि युवाहरूले नेतृत्व लिनुपर्ने बताएका छन् । उनले पाका नेताहरूलाई भत्ता र सम्मान दिँदै विदा गर्ने र युवाहरूलाई स्थापित गर्नुपर्ने बताए ।
ओलीप्रति कटाक्ष गर्दै एमाले उपमहासचिव घनश्याम भुसालले भने ‘नेताले नीति चिन्दैनन् । कता जाने हो थाहा छैन,’ उनले थपे, ‘त्यहीँबाट निस्कन्छ हावाबाट विजुली ।’ उनले प्रधानमन्त्री ओलीले घर घरमा ग्यासको पाइप जोड्ने र हावाबाट विजुली निकाल्ने भन्दै दिएको सार्वजनिक अभिव्यक्तिप्रति चर्को आलोचना गरे ।
भुसालले नेपालमा दलहरू भ्रष्ट हुन थालेको भन्दै सबै राजनीतिक दलको चरित्रको पनि आलोचना गरे । ‘दलाल पूँजीपति वर्गले देशलाई खोक्रो बनाउँदैछ । त्यो वर्गसँग पैसा छ, उसको पैसाले पैसा जन्माउँछ । उसको पैसाले रोजगारी र उत्पादन जन्माउँदैन,’ उनले भने भने । भुसालले सम्पूर्ण राज्य प्रणाली दलाल बर्गले चलाउन थालेको भन्दै अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिमा पनि प्रश्न उठाए । ‘लोकमानसिंहले पार्टी किने अनि पार्टीले लोकमानसिंह किन्ने भयो, उनले भने ।’ उनले भारतले नेपालमा औपनिवेशिक नीतिका कारण संविधान कार्यन्वयनमा समस्या आएको उल्लेख गरे । ‘पूँजीपति बर्गको पकडमा रहेको भारतीय राज्यसत्ताले नेपालको श्रोतसाधन माथि आँखा गाडेको छ । अरूको शोषण नगरी धनि बनिन्न भन्ने उपनिवेशिक शिक्षा पाएको भारतले यहाँ लोकतान्त्रिक संविधानको निर्माण र कार्यन्वयन हुन नदिन प्रपन्च रचेको छ,’ उनले भने, ‘त्यही कारणले भारतले नाकावन्दी गर्यो ।’ भुसालले मधेसमा उत्पीडन र गरिवी रहेको, तर अहिले मधेसवादीले बोलेको कुरा जनताले बोलेको भनेर बुझ्न नहुने तर्क गरे । उनले डा. बाबुराम भट्टराईको नयाँ शक्तिलाई शिखण्डीको संज्ञा दिए ।

पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूलाई पार्टीले काम र कुनै जिम्मेवारी नदिएको भन्दै पार्टी अध्यक्ष ओलीको विरोध गरे । उनले भने, ‘काम केही नगरी खाली उखान टुक्काले देश चल्दैन ।’ पण्डितले देशभित्रकै केहि दोगला चरित्र बोकेकाहरूले बाहिरी प्रभावमा परेर संविधान जलाएको पनि आरोप लगाए । उनले ती दलहरू राजनीतिमा च्याँखे थाप्नका लागि जन्मेको पनि आरोप लगाए । ‘शरीरमा खुन भएका नेपालीहरूले दोगला चरित्र बोकेकाहरूसित शिर निहु¥याउनु हुँदैन,’ पण्डितले भने, ‘विदेशी दूतावासमा गएर रोइकराई गरुन् कि दशगजामा गएर लम्पसार परुन्, तिनीहरूका नाजायज माग कुनै हालतमा पुरा गर्नु हुँदैन ।’

Facebook Comments

Related posts

Leave a Comment