भारतसँग हा¥यो नेपाल

cricket copy
काठमाडौं । बंगलादेशमा भएको यु–१९ विश्वकप क्रिकेटअन्तर्गत समूहको अन्तिम खेलमा सोमबार नेपाल भारतसँग पराजित भयो । भारतविरुद्ध कमजोर ब्याटिङ र बलिङ गरेको नेपाल भारतसँग ७ विकेटले पराजित भयो ।  यसअघि नै लगातार २ खेलमा जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको नेपालले समूहको अन्तिम खेलमा त्यसलाई निरन्तरता दिन सकेन । अन्य खेलमा उत्कृष्ट बलिङ गरेका नेपाली बलरले भारतीय ब्याट्सम्यानविरुद्ध खासै राम्रो बलिङ गर्न सकेनन् । बंगलादेशको ढाकामा सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । नेपालले ४८ ओभरमा ८ विकेट गुमाएर १ सय ७० रनको सामान्य लक्ष्य प्रस्तुत ग¥यो ।

जवाफ भारतले १९औँ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । भारतको जितमा उसका ब्याट्सम्यानले आतिसी पारी खेले । नेपालका लागि सुरुआती ब्याट्सम्यान सन्दीप सुनारले ३७ रन जोडे । ७३ बल खेलेका सुनारले ४ चौका प्रहार गरे । राजवीर सिंहले ६८ बलमा एक चौकाको मद्दतले ३५ रन जोडे । प्रेम तामाङले अविजित २९ रन र आरिफ शेखले २६ रनको योगदान दिए । पहिलो ओभरमा नै ५ रन जोड्दा नेपालले ओपनर सुनील धमलालाई गुमायो । भारतीय बलर सामु नेपाली ब्याट्सम्यान चल्नै सकेनन् । त्यसैले नेपालले ३४ ओभरमा १ सय रन बनाउँदा माथिल्लो क्रमका ६ ब्याट्सम्यानलाई गुमायो ।

बलिङतर्फ भारतका अभेस खानले सर्वाधिक ३ विकेट लिए । मयंक डागर र सुन्दर वासिङ्टनले समान २–२ विकेट लिए । जवाफमा भारतीय ब्याट्सम्यान रिशव पन्तले उत्कृष्ट ब्याटिङ गरे । पन्तले २४ बलमा ७८ रनको सर्वाधिक योगदान दिए । उनको इनिङमा ९ चौका र ५ छक्का समावेश थियो । उनले १८ बलमा अर्धशतक पूरा गरे । त्यससँगै पन्तले यु–१९ क्रिकेटमा कम बलमा अर्धशतक बनाउने कीर्तिमान राखे । अर्का ओपनर इशान किसनले ४० बलमा ५२ रन जोडे । उनले ७ चौका र ३ छक्का प्रहार गरे । रिशवलाई प्रेम तामाङले क्लिन बोल्ड गर्दा किसनलाई सन्दीप लामिछानेले सुनील धमलाबाट क्याच आउट गराए । बलिङतर्फ नेपालका प्रेम तामाङले सर्वाधिक २ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट लिए । नेपाली बलरहरू निकै महँगो सावित भए । भारतीय ब्याट्सम्यानहरूले बिस्फोटक ब्याटिङ गर्दै उनीहरूलाई दबाबमा राखे । प्रेम र सन्दीपबाहेक सबै बलरले १० भन्दामाथिको रनरेट खर्चिए ।

ग्रुपमा सबै खेल जित्दै भारत समूह ‘डी’को विजेता बनेको छ । २ जित र १ हार बेहोरेको नेपाल उपविजेता बन्यो । दुवै टोली यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेका थिए । क्वाटरफाइनल अब नेपालले बंगलादेशको समाना गर्नेछ । भारत भने नामेबियासँग खेल्नेछ । नामेबियाले ग्रुपको अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । त्यसपछि अफ्रिकी टोली ग्रुप खेलबाट नै घर फर्र्किएको थियो ।

Facebook Comments

Related posts

Leave a Comment