भूकम्पपीडितलाई घर

एबिसि खबर
नुवाकोट, १८ माघ । भूकम्पपीडित माझी बस्तीलाई इजरायलको ‘इज्राएड’ नामक संस्थाको सहयोगमा भूकम्प प्रतिरोधात्मक अस्थायी आवास निर्माण गरिएको छ । तारुका–१ माझीटारमा सो संस्थाले ५० अस्थायी आवासको निर्माणमा सहयोग गरेको हो । ‘आशाको घर’ नामक परियोजनाअन्तर्गत निर्माण गरिएको सो आवासको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले माझी बस्तीलाई हस्तान्तरण गरे ।

माझीटार बस्तीका ३० माझी र २० नेवार समुदायको भवन गत १२ वैशाखपछि गएका परकम्पले पूर्णरूपमा नष्ट भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण माझी र नेवार समुदायले आफैँले आवास निर्माण गर्न नसकेपछि सो संस्थाको सहयोगमा अस्थायी आवास बनाइएको हो । सो संस्थाले आवास निर्माणका लागि प्रतिघर २५ हजार प्रदान गरेको तथा आवश्यक कच्चापदार्थ स्थानीयस्तरबाट जुटाइएको सो क्षेत्रमा आवास निर्माणको अगुवाइ गरेका पत्रकार विष्णु तारुकेले जानकारी दिए ।

‘भूकम्पले घर भत्कायो, जसोतसो दिन काट्थ्यौँ, चिसोमा रात काट्न मुस्किल थियो, अस्थायी भए पनि घर निर्माण भएकामा खुसी लागेको छ’ स्थानीयवासी कृष्णबहादुर माझीले खुसी व्यक्त गरे । भूकम्पले ध्वस्त भएका संरचना निर्माणका लागि सरकारले पुनर्निमाण प्राधिकरण गठन गरे पनि तत्कालै भवन निर्माण नहुने भएकाले माझी र नेवार समुदायले अस्थायी आवासले थोरै भए पनि राहत मिलेको महसुस गरेका छन् ।

इज्राएडका निर्देशक बेन दागानीले भने ‘पीडामा थोरै भए पनि सहयोग गर्ने प्रयास गरेका छाँै, यसले बस्तीमा केही राहत मिलेको अनुभव गरेको छु ।’ सो संस्थाले भूकम्पपछि ५ सय विद्यार्थीलाई झोला, कापीलगायत आवश्यक सामग्रीसमेत प्रदान गरेको थियो । सो अवसरमा मन्त्री पोखरेलले अरूको मात्र आस नगरी परिश्रमी हात र दिमागको प्रयोग गरेर सकेसम्म आफैँले आफ्नो क्षेत्रको निर्माणमा लाग्नुपर्नेमा जोड दिए । तारुकामा पर्यटकीय स्थान धेरै भए पनि उचित सदुपयोग गर्न नसकिएकाले त्यसतर्फ ध्यान दिन मन्त्री पोखरेलले आग्रह गरे ।

उनले हरेक वर्ष माघेसक्रान्तिका दिन ‘गोरु जुधाइ’ प्रतियोगितालाई एक हप्तासम्म मनाउन, तारुका आसपासमा घरबार सञ्चालन गर्ने योजना बनाउन र पर्यटकलाई जैविक खाद्यपदार्थ खुवाउन तारुकाबासीलाई सुझाव दिए । तारुका आसपासमा रहेका सांस्कृतिक एवं ऐतिहासिक स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पनि उनले आग्रह गरे । सो अवसरमा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, युवा नेता केशव पाण्डेलगायतले विपद्मा सहयोगी हात पैmलाउने इजरायली संस्थाप्रति आभार प्रकट गरेका थिए ।

Facebook Comments

Related posts

Leave a Comment