चौधरी फाउण्डेसनद्वारा काभ्रेमा थप दुई विद्यालय हस्तान्तरण

५ असोज, काठमाडौं । चौधरी फाउण्डेसनले भूकम्पबाट क्षतिग्रस्त काभ्रेका थप दुई विद्यालयका लागि भवन निर्माण गरी मंगलबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

काभ्रेको पाँचखालस्थित श्री आजाद उच्च माध्यमिक विद्यालय र धुलिखेलस्थित श्री संजिवनी नमूना उच्च माध्यमिक विद्यालयका लागि फाउण्डेसनले नयाँ भवन निर्माण गरी हस्तान्तरण गरेको हो ।

यसअघि फाउण्डेसनले काभ्रेको धुलिखेलस्थित बालमन्दिर प्राथमिक विद्यालय र उग्रतारा गाविसस्थित जनागाल बाहुनडाँडाको जनज्योती निम्न माध्यमिक विद्यालयका भवन निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका एक सय सार्वजनिक विद्यालयको पुनर्निर्माण गर्ने चौधरी फाउण्डेसनको प्रतिवद्धता अनुसार यी विद्यालयको पुनर्निर्माण गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालयहरुको पुनर्निर्माणका लागि चौधरी फाउण्डेसनले ‘सिजी शिक्षालय’ परियोजना कार्यान्वयन गरिरहेको छ ।

चौधरी फाउण्डेसनले हालसम्म सातवटा विद्यालय पुनिर्निमाण गरी हस्तान्तरण गरिसकेको छ ।

हस्तान्तरण गरिएका विद्यालयमा काभ्रेका चारका अतिरिक्त गोर्खाका कृष्णज्योती माध्यमिक विद्यालय, गाँखु मोहटार र संसारी महेन्द्र उच्च माध्यमिक विद्यालय साँघु तथा भक्तपुर दरवार स्क्वायर क्षेत्रको विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालय रहेका छन् ।

चौधरी फाउण्डेसनका अध्यक्ष श्री विनोद चौधरीको परिकल्पना अनुसार भूकम्पपीडित बालबालिकाहरुको अध्ययनमा नकारात्मक प्रभाव नपरोस् भन्ने उद्देश्यका साथ ‘सिजी शिक्षालय’ परियोजना कार्यान्वयनमा ल्याइएको हो । ‘सिजी शिक्षालयले निर्माण गरेका विद्यालय भवनमा अध्ययन गरिरहेका बालबालिकाहरु देख्न पाउँदा मलाई गर्व लाग्छ ।’

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरी भन्नुहुन्छ, ‘भूकम्प प्रभावित बालबालिकाहरुलाई अध्ययन गर्ने सहज वातावरण मिलाउन हामी सबैले पहल गर्नु आवश्यक छ, किनकि यी बालबालिका नै हाम्रा भविष्य हुन् ।’

मंगलबार काभ्रेका विद्यालय हस्तान्तरण समारोहमा सपुरजी पलोनजी फाउण्डेसनका सिएसआर प्रमुख जरिन कोमिसरियट, समाजसेवी बेलप्रसाद श्रेष्ठ, जिल्ला शिक्षा कार्यालयका अधिकारीहरु र चौधरी फाउण्डेसनका अधिकारीहरुको सहभागिता थियो ।

Source:Online Khabar

Facebook Comments

Related posts

Leave a Comment