राससले दियो : चार सहिदको जातीय पहिचान खुल्ने समाचार

nepali-martyrsकाठमाडौँ, १५ माघ । ‘सहिदहरुको पहिचान लुकाउन पाइँदैन’ भन्ने नारा अगाडि सार्दै अभियान सुरु भएकोले हुनसक्छ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार समितिले सहिद दिवससम्बन्धी खबरमा सहिदहरुको जातीय पहिचान खोलेको छ ।

नेवाः प्रदेशमा आदिवासी जनजाति जागरण अभियानले सहिद दिवसको उपलक्ष्यमा सहिदहरु गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री र दशरथ चन्द मात्र नभनौं, बरु थर समेत भनौं, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री जोशी र दशरथ चन्द नै भनौं’ भन्ने अभियान चलाएको हो ।

यसैबीच ‘आदिवासी जनजातिको पहिचान नलुकाऔं, श्रद्धाञ्जलीसहित सहिदगेटमा हुने प्रदर्शनमा सहभागी बनौं’ नाराका साथ भोलि माघ १६ गते शनिबार विहान ८ बजेदेखि १० बजेसम्म कार्यक्रम आयोजना गरिँदैछ । त्यसैको प्रभावस्वरुप फेसबुक र सामाजिक सञ्जालमा यसबारे बहस जारी छ ।

सबै जनता र सहिदलाई ‘नेपाली’का रुपमा मात्रै प्रस्तुत गर्ने र उनीहरुका जातीय पहिचान मेट्ने रणनीतिअनुसार सहिद दशरथको चन्द थरचाहिँ खोल्ने र तीन जना नेवार समुदायका सहिदहरुको थर भने नखुलाइएको आरोप लाग्दै आएको छ ।

यसैबीच नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति [रासस]ले आज दिएको खबरमा भने राणाशासनविरोधी आन्दोलनका अगुवाहरु गंगालालसँगै अरु सहिदहरुको थर पनि खुलाइएको छ जुन रासस र अन्य समाचार समिति र मिडियामा पहिले प्रचलनमा थिएन ।

शीर्षक हेर्दा झट्टै पत्याउनै नसकिने उक्त खबरमा दशरथ चन्दको पहिलेजस्तै थर खुलाइएको थियो नै, अन्य तीन जना नेवार समुदायका सहिदहरुको पनि थर खुलाइएको हो । स्मरणीय छ आफ्नो नामको पछाडि ‘शास्त्री’ उपाधि लेख्ने शुक्रराजको थर जोशी हो जुन नेवार समुदायकै एक थर हो ।

राससले आज दिएको  खबरमा यसरी भनिएको छ :



सहिद श्रेष्ठ र चन्दप्रति श्रद्धाञ्जलि अर्पण

सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको स्थान शोभा भगवतीमा आज उहाँहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

विसं १९९७ माघ १५ गते उहाँहरूलाई तत्कालीन राणा सरकारले प्रजातन्त्रका लागि जनतालाई एकजुट बनाएको र शिक्षित गराएको आरोपमा मृत्युदण्ड दिएको थियो ।

काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा विसं २०१२ देखि प्रत्येक वर्ष सहिद सप्ताहको आयोजना गरिँदै आएको छ ।

यही माघ १०, १३ र १५ गते चार सहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई क्रमशः पचली, सिफल र शोभा भगवतीमा गएर उहाँहरूको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । रासस

स्रोत : Esamata

 

 

Facebook Comments

Related posts

Leave a Comment