सुर्तीजन्य पदार्थ निराकरणमा सरकारी पहल प्रभावहीन

एविसी, हेल्थ । काठमाडौ ।

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने भनाइ आजभोलि हरेक व्यक्तिलाई थाहा हुँदाहुँदै पनि नेपालमा पछिलो समय ७० प्रतिशत व्यक्तिहरु सुर्तीजन्य पदार्थ सेवनको लतमा फसेका छन् । स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थ सेवनमा निराकरण र जनचेतनाको लागि मात्र ४० करोड बार्षिक बजेट छुट्याएको छ तर यसको प्रभाबकारिता भने लगभग शून्य छ ।
धुम्रपान सेवन गर्ने व्यक्तिको जिन मै त्यसको असर हुने हुँदा आफ्ना सन्तानको स्वास्थ्यमा समेत असर पर्ने चिकित्सकहरु बताउँछन् । गर्भवती आमाले सुर्तीजन्य पदार्थको सेवन गरेमा गर्भ खेर जाने, मृत बच्चा जन्मिने, समय नपुगी जन्मिने, कम तौल भएको बच्चा जन्मिने तथा शिशुको शारिरीक तथा मानसिक विकासमा समेत असर गर्दछ । सुर्तीजन्य पदार्थमा कर बढाउनुको उद्देश्य नै यसको प्रयोगमा कमी आओस भन्ने नै हो ।  कोहीले साथीभाइको करले, कोहीले तनाव घटाउँछ भन्ने गलत मानसिकताले र कोहीले हर्ष बढाइँ वहानामा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरु दिनप्रतिदिन बढ्दो छ ।
सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन जारी गरे पनि प्रभावकारी कार्यान्वयन भएको छैन । जरिवानासहितको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ०७१’ जारी पनि भइसकेको छ । यद्यपी कार्यान्वयन पक्ष भने त्यति राम्रो देखिएको छैन । सुर्तीजन्य पदार्थको बट्टामा नकारात्मक असर गर्ने चित्र अंकित गरिएको छ । सम्पूर्ण सार्वजनिक ठाउँहरुमा सुर्तीजन्य पदार्थको प्रयोगमा प्रतिवन्ध लगाइएको छ । खिल्ली अथवा खुद्रा चुरोट बेच्न पनि प्रतिवन्ध लगाइएको छ । तर यसको पूर्ण पालना भैरहेको छैन । नियमितरुपमा प्रभावकारी अनुगमन र कारवाहीको टडकारो आवश्यकता देखिएको छ ।विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार विश्वभर करिव ६ मिलियन ब्यक्तिहरु सुर्तीजन्य पदार्थको सेवनको कारणबाट ज्यान गुमाइरहेका छन् । करिव ६ लाख मनिसहरु अन्यले सेवन गरेको सुर्तीजन्य पदार्थको प्रभावले ज्यान गुमाइरहेका छन् । हरेक छ सेकेण्डमा एक ब्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट भइरहेको छ । करिव ८० प्रतिशत प्रयोगकर्ताहरु हाम्रो देश जस्ता कम तथा माध्यम आयस्रोत हुने देशहरुमा छन् । सेवन गर्ने वित्तिकै तत्काल असर नपरे पनि लामो समय पछि यिनीहरुको गहिरो असर देखिने गर्दछ ।
हालसम्म ४ हजार भन्दा बढी रसायनहरु सुर्तीजन्य पदार्थमा भेटिइसकेको छ । जसमध्ये करिव २५० हाम्रो शरीरका लागि हानीकारक छन् र ५० वटा भन्दा बढीले क्यान्सर निम्त्याउँदछन् । समय मै यस्तो लतबाट टाढा रहन आवश्यक छ ।

Facebook Comments

Related posts

Leave a Comment