पर्वतको सान, अग्लो झोलुङ्गे पुल निर्माण

पौष, पर्वत ।
मुलुककै अग्ला झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरी अर्को अग्लो झोलुङ्गे पुलको निर्माण शुरु भएको छ । पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसंग जोड्न मोदीखोलामा १ सय ५५ दशमलब ७० मिटर अग्लो अर्को झोलुङ्गेपुल निर्माण शुरु भएको हो ।
कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमिटर होचो छ । यो पुल अहिले सम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामो हुने बताइएको छ । यो पुल ३ सय ५९ मिटर लामो हुने स्थानीय पुर्वाधार तथा कृषि सडक बिभागले जनाएको छ । बिभागले दिएको जानकारी अनुसार कुल १ करोड ७६ लाखको लागतमा निर्माण हुने पुल २०७३ भदौ मसान्त सम्म सक्ने लक्ष्य राखिएको छ। पुल निर्माण कार्य तोकिएकै अवधिमा सम्पन्न गर्ने लक्ष्य सहित काम शुरु गरिएको ठेकेदार कम्पनी मुक्तिनाथ एण्ड श्री गीता जेभिका प्रोपाईटर ओम गौचनले बताए । पुलको पुर्ब प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले शुक्रबार शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै कोइरालाले नेपालमा जलस्रोत, पर्यटन, र कृषिको राम्रो संभावना रहेको बताउदै बिकास निर्माणका लागि मुलुकमा स्थायित्व र शान्ति आवश्यक भएको धारणा राखेका थिए ।
पर्वतको महत्वपुर्ण कृषि तथा ब्यापारिक केन्द्रको रुपमा रहेको फलेबाससम्म पुग्न अहिले बड्गाउँबाट १ घण्टा पैदल जानुपर्छ भने दोबिल्ला फलेबास सडक मार्फत जाँदा १३ किलोमिटर कच्ची सडकको दुरी पार गर्नुपर्छ । झोलुङ्गे पुल निर्माणपछि कुस्मा देखि मुडिकुवा जाँन १० मिनेट समय लाग्नेछ । यसले त्यस क्षेत्रमा आवतजावत र कृषि उपजको ढुवानीमा सहजता ल्याउने प्रमुख जिल्ला इन्जिनियर मेहन्द्र बानियाँले बताए ।
अग्ला झोलुङ्गे पुलको शहर बन्दै गएको कुस्मामा पुल हेर्न आउने आन्तरिक पर्यटकको भिड नै लाग्ने गरेको छ । बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुस्मा–कैया झोलुङ्गे पुलबाट जम्मा १ सय मिटर नजिकै यो पुलको निर्माण थालिएकाले थप पर्यटक भित्र्याउन सहयोग पुग्ने बिश्वास लिइएको छ

Facebook Comments

Related posts

Leave a Comment