अपराधीविरुद्ध प्रहरी आक्रामक, एक सातामा २० बढी पक्राउ

१७ पौष, काठमाडौ ।
मुलुकको असहज परिस्थितिको लाभ उठाउदै अपराधिक गतिविधीमा संलग्न हुनेहरुविरुद्ध प्रहरीले आक्रामक नीतिको अख्तियार गरेको छ । एक साताको अवधिमा लागूऔषध ओसारपसार, लुटपाट, चोरी, डकैटी र कालोवजारी गर्ने २० भन्दा बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिई प्रहरीले सार्वजनिक गरेको हो ।
विहीवार महानगरीय प्रहरी परिसर काठमाडौमा थानकोट, स्वयम्भू, महाराजगञ्ज, कालीमाटी, सोह्रखुट्टेलगायत वृत्तका प्रहरी प्रमूखहरु भेला भएर विभिन्न अपराधमा संलग्न भएको अभियोगमा एक साताभित्र नियन्त्रणमा लिएका २० भन्दा बढी व्यक्तिहरुलाई सार्वजनिक गरेको हो । असहज परिस्थितिको लाभ उठाउदै हुनसक्ने अपराधलाई नियन्त्रणमा लिन प्रहरी सजग भएको भन्दै त्यसविरुद्धको कारवाहीलाई तीव्रता दिदा एकै सातामा धेरै मानिसहरु पक्राउ परेको काठमाडौ प्रहरी प्रवक्ता एसपि विश्वराज पोखरेलले बताए ।
यसवीचमा, थानकोट प्रहरीले सर्लाही, वारा, नेपालगञ्जलगायतवाट सार्वजनिक यातायातमा लुकाईछिपाई काठमाडौ ल्याएको कोरेक्स, नाइट्रोसन, डाइजेल्याब, न्युफिन, फेनारगन र डाइजेपाम लगायतका लागूऔषध सहित ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुरेश गीरी, कुशल भट्टराई, विशाल तामाङ, राजु खड्का, आशिष रेग्मी, लक्ष्मण खड्का, उमेश तामाङ, सुवास श्रेष्ठ, चन्द्र शर्मा, रुदेन थापा र सुभराज लामा रहेको दिल्लीराज पन्तले जानकारी दिए ।
यसैगरी, महाराजगञ्ज प्रहरीले काठमाडौका विभिन्न क्षेत्रमा चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा सामग्रीसहति भारत हैदरावादका बब्लु गीरी, नरेश गीरि, राजु गिरी, किरण गीरी लगायतलाई पक्राउ गरेको वृत्त प्रमूख डिएसपी विश्वमणी पोखरेलले बताएका थिए ।
शरीर वन्धक तथा अपहरण अभियोगमा स्वयम्भू प्रहरीले माछापोखरीवाट दुई जना महिला, ठगी गरेको अभियोगमा कालीमाटी प्रहरीले रकमसहित दुई जना र चोरी गर्ने ३ जना र रकम तथा गहना लुटपाट गरेको अभियोगमा सोह्रखुट्टे प्रहरीले एक महिलासहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Facebook Comments

Related posts

Leave a Comment