मानवअधिकार उल्लंघनको अनुगमन गर : राष्ट्रसंघ र मानवअधिकार आयोगसामु धर्ना

ललितपुर, पुस ३ । ‘नेवाः प्रदेशमा आदिवासी जनजाति जागरण अभियान’को आह्वानमा आज संयुक्त राष्ट्रसंघ र नेपाल मानव अधिकार आयोगको कार्यालय रहेको क्षेत्र हरिहर भवनमा धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

तराई मधेसमा राज्यबाट जारी राखिएको मानव अधिकार उल्लंघनका घटनाबारे अनुगमन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, राष्ट्रसंघका विभिन्न घोषणापत्रमा नेपालले गरेको हस्ताक्षरका आधारमा संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चितताका लागि भूमिका खेल्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर लिएर धर्ना दिइएको हो ।

धर्नामा आदिवासी जनजाति अभियानका अभियन्ताहरु डा. कृष्ण भट्टचन, नन्द कन्दङवा, शंकर लिम्बु, श्रीकृष्ण महर्जन, अर्जुन महर्जन, डा. महेशमान श्रेष्ठ, नजरराम महर्जन, यशोकान्ति भट्टचन, सनी लामा, सुवर्ण डंगोललगायत दर्जनौं व्यक्तित्वले सहभागिता जनाएका थिए ।

नयाँ संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चित नगरिएको र अन्तरिम संविधानमा उल्लेख भएका अधिकार समेत घटाएर नयाँ संविधान जारी गरिएकोमा आफ्नो असहमति प्रकट गर्दै धर्ना कार्यक्रममा आयोजना गरिएको अभियानले जनाएको छ ।

गत मंसिर २३ गतेदेखि सुरु गरिएको एकमहिने अभियानको सिलसिलामा आउँदो आइतबार ५ गते प्रेस काउन्सिलको कार्यालयसामु धर्ना दिइने भएको छ । नेपालका राष्ट्रिय संचार माध्यमबाट मधेस र थारु आन्दोलनसँगै जनजाति आन्दोलनबारे भ्रामक समाचार सम्प्रेषण गरिएको विरोधमा खबरदारी गर्न र भ्रामक समाचार दिने संचार माध्यमहरुको भण्डाफोर गर्न धर्ना केन्द्रित गरिएको अभियानले घोषणा गरेको छ ।

newa-abhiyan-1

स्रोत: Esamata

Facebook Comments

Related posts

Leave a Comment