आन्दोलनरत दल तथा सरकार वार्ताको वेवास्ता गर्दै

१७ मंसिर, काठमाडौ ।
सरकार, प्रतिपक्ष कांग्रेस र मधेसी मोर्चा मधेस आन्दोलन सुल्झाउन अझै गंभीर देखिएका छैनन् । तीनै पक्ष आआफ्नै अडानमा रहेका कारण यस अघिको वार्ता विना निष्कर्ष टुङ्गिएको थियो ।
मधेस आन्दोलन सुल्झाउन हिजो साँझ बस्ने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगित भएको छ । वार्ताको नयाँ मिति प्रमुख तीन दलले आज तय गर्नेछ ।
दुवै पक्षले वार्ताका लागि पर्याप्त गृहकार्य नगरेको अवस्थामा मधेसी मोर्चाका लागि शीर्ष नेता नआउने खबर पाएपछि प्रधानमन्त्री केपी ओलीले हिजोको वार्ता स्थगित गरेका थिए । सरकारले वार्ताका पहल नगरेको आरोप लगाउँदै आएका मधेसी मोर्चाका नेताहरु प्रधानमन्त्रीले बोलाएको त्रिपक्षीय छलफल छाडेर आन्दोलनका कार्यक्रममा सहभागी भएका थिए ।
मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच मधेसी मोर्चाले राखेको ११ बुँदे मागबारे समान धारणा बनाउने भने पनि त्यो गृहकार्य ती दलले पूरा गरेका थिएनन् ।
पटकपटक आफ्ना मागबारे ठूला दलको धारणा मागेको मोर्चालाई समान धारणाको गृहकार्य पूरा नभएको अवस्था के भन्ने नैतिक संकट सत्ता पक्षलाई थियो । मधेस आन्दोलन आफ्नै अग्रसरतामा समाधान गर्छु भन्ने विपक्षी कांग्रेस पनि सत्ता पक्षले प्रस्ताव ल्याउँला अनि आफ्नो रणनीति तय गरौंला भन्ने दाउमा छ ।
आफ्ना मागबारे तीन दलको समान धारणा नबनेसम्म केही हुन्न भन्ने बुझेका मोर्चाका नेताले तीन दलको गृहकार्यलाई राम्रोसँग नियाली रहेका छन् । मधेसी मोर्चाका चारवटै घटकका शीर्ष नेताहरु जिल्ला दौडाहामा छन् । वार्तामा ठोस प्रस्ताव नआउने बुझेरै मोर्चाका ठूला नेता धनुषाको ढल्केबरमा आयोजित विरोधसभामा गएका हुन् । ०००

Facebook Comments

Related posts

Leave a Comment