ग्रामीण सडक विस्तारको लहर, मापदण्ड विपरीतको सडकले वातावरणमा गम्भीर असर

१६ मंसिर, रोल्पा ।
विकासको पूर्वाधारमा सडक नै पहिलो प्राथमिकतामा पर्नुपर्छ भन्ने मानसिकताका कारण देशव्यापी रुपमा नै सडक विस्तारको माहोल देखिन्छ । अझ गाम्रीण स्तरमा यसको हावाले छुँदा गाउँका सबै योजना र विकासे गतिविधिलाई थाँती राखेर सडकमा नै बढि चासो देखाएको पनि पाइन्छ । रोल्पा पनि यसबाट अछुतो हुन नसक्दा केहि वर्ष यता गाउँगाउँमा सडक सञ्जाल बिस्तार त भयो तर पछिल्ला समय त्यस्ता सडकहरु भने प्रयोगविहीन बन्दै गइरहेको छ ।
द्धन्द्धकालिन समयमा मुश्किलले राष्ट्रिय राजमार्गबाट सदरमुकाम लिबाङसम्म गाडी पुग्ने गर्दथ्यो भने जिल्लाको पश्चिमी क्षेत्रमा माओवादीले शुरु गरेको शहिदमार्ग सडक आयोजनामा छोटो दुरीका सवारी साधन गुड्ने गर्दथे । अन्य गाविस भने सडकको पहुँचबाट निकै टाढा थिए ।  गाउँगाउँमा घोडेटो बाटो नै बढी प्रयोगमा आउँथ्यो । शान्ति प्रक्रियापछि भने गाउँगाउँमा सडक विस्तार गर्ने लहर नै चल्यो । विकास भनेकै सडक हो भन्ने सोचाईका कारण गाविस स्तरमा विनियोजित बजेट,जिल्ला विकास समितिका वार्षिक र केन्द्रीय योजनामा  समेत सडक नै प्राथमिकतामा परेपछि अहिले जिल्लाको ४७ वटा गाविसमा सडक टृयाक खोलिएको छ  ।
गाउँ स्तरका अन्य शिर्षकमा विनियोजित बजेट समेत सडकमा खन्याएपनि जिल्लामा बिस्तार गरिएका ग्रामीण सडकहरु भने अहिले प्रयोगविहिन बन्दै गएका छन् । वर्षका केहि महिना गाडी गुडेपनि अन्य समयमा भने यस्ता सडक पहिरोका कारण अबरुद्ध हुने गरेका छन् । ग्रामिण सडकहरु हिउँदे सडकका रुपमा विकास भएका छन् ।
सडक विस्तार पछि लाभान्वित हुने स्थानीयको अपेक्षा भएपनि ट्रयाक खोलपछि यसको स्तरोन्नती हुन नसक्दा उनीहरु थप मर्कामा छन् । बिना पूर्वयोजना खोलिएका यस्ता सडकहरु बीचमा नै अलपत्र पर्न थालेपछि स्थानीय तहको विकासमा बिनियोजित बजेट समेत दुरुपयोग हुँदै गएको छ भने स्थानीयको मोटर चढ्ने सपना पनि पर धकेलिएको छ ।
कतिपय गाविसमा त आगामी आर्थिक वर्षका बजेट समेत सडकमै खर्च गर्ने भन्दै उधारोमा नै सडक खन्ने नराम्रो अभ्यास हुने गरेको देखिन्छ । यसमा स्थानीय तहमा गठित उपभोक्ता समिति नै बढि सक्रिय हुने गरेका छन् । जसका कारण गाउँको अन्य क्षेत्रको विकासमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । अर्कोतिर प्राविधिक अध्ययन बिना नै मापदण्ड विपरित जथाभावी सडकको ट्रयाक खोल्ने कामले वातावरणमा समेत नराम्रो प्रभाव परिरहेको छ भने कतिपय गाउँहरु पहिरो र भूक्षयको उच्च जोखिममा समेत परेका छन् । ०००

Facebook Comments

Related posts

Leave a Comment