जुरे पिडीतलाई पुनर्वासको पहल

१६ मंसिर, सिन्धुपाल्चोक ।

जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुपाल्चोकले विनाशकारी जुरे पहिरोको १६ महिनापछि पुनर्वासमा जान चाहने पीडितहरुका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जुरे पहिरो पीडित मध्ये आठ परिवारले मात्रै पुनर्वासमा जान निवेदन दिएका छन् ।
जुरे पहिरो पीडित मध्ये आठ परिवारले यस अघि नै जिल्ला दैवी प्रकोप उद्धार समितिमा निवेदन दिएका हुन् । उनीहरुकै निवेदनका आधारमा पीडितहरुलाई पुनर्वासमा लैजान जग्गा खरिद प्रक्रिया बढाउने निर्णय गरेको हो । मंगलबार सम्पन्न भएको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले पीडितहरुको नाममा विभिन्न संघ संस्थाहरुले दिएको सहयोग रकम यस अघि बनाएको मापदण्डको आधारमा वितरण गर्ने निर्णय भएको समितिका सदस्य एवम् पत्रकार युवराज पुरीले जानकारी दिए ।

पुनर्वासमा जाने पीडित परिवारलाई मांखा गाविस भवन माथि रहेको जग्गा खरिद गर्ने विषयमा छलफल भएको छ । वैठकमा एक परिवारलाई  ८ देखि १२ आनासम्म जग्गा खरिद गरेर दिन सकिने बारेमा छलफल भएको थियो  । जग्गा खरिदका लागि समितिले शहरी विकास मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि बैठकले गरेको छ । पीडितहरुको नाममा समितिको खातामा जम्मा भएको २ करोड २४ लाख ६६ हजार रुपियाँ वितरणका लागि यस अघि मापदण्ड निर्माण भएको र खाताको म्याद सकिएकाले त्यसलाई सक्रिय बनाउनका लागि गृह मन्त्रालयमा पत्र पठाउने निर्णय पनि भएको छ ।

त्यस्तै समितिको बैठकले जिल्लाका विभिन्न गाविसका भुकम्प पीडितहरुले परिचय पत्र नपाएको भन्दै आएको निवेदनप्रति ध्यानकर्षण भएको जनाएको छ । त्यसैले स्थानीय निकायसँगको समन्वयमा वास्तविक पीडितहरुलाई परिचय पत्र प्रदान गर्ने निर्णय समेत जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकले गरेको छ । ०००

Facebook Comments

सम्बन्धित

Leave a Comment