सुन्दर गिलुङलाई सिङ्गार्दै महिलाहरु

१४ मंसिर, लमजुङ
हुन त स्वभाविकै हो आफ्नो लागि आफैंले गर्नुपर्छ । यही भावनालाई गुरुमन्त्र ठानेर लमजुङको पर्यटकीय गाउँ गिलुङका स्थानीयबासीहरु आफ्नो गाउँको सरसफाइमा जुट्न थालेका छन् । विस्तारै होमस्टेका लागि पर्यटकहरुको आगमन बढ्न थालेपछि प्रकृतिले सुन्दर बनाइदिएको आफ्नो गाउँलाई सफा र चिटिक्क बनाउँन स्थानीयहरु आफैं लागिपरेका हुन् । कतिसम्म भने चराचुरुङ्गीहरुले झारिदिएका पातपतिङ्गार समेत टिपेर सफाइ गर्ने गरेका छन् ।
गाउँमा ‘आरसिडिसी सुआहारा’ सरसफाई कार्यक्रम लागु भएपछि लमजुङको पर्यटकीय गाउँ गिलुङका गाउँलेहरुमा आएको चेतनाको विकाससँगै आफ्नो गाउलाई थप स्वच्छ र हराभरा बनाउँने अभियानमा लागेका हुन् । अहिले कुल ३ सय ४१ घरधुरी रहेको गिलुङ गाविसका १ सय ९४ वटा घरहरु पूर्ण सरसफाईयुक्त भइसकेका छन् । गिलुङ गाउँ पहिलेदेखि नै अन्य गुरुङ गाउँहरुभन्दा सफा गाउँको रुपमा परिचित रहँदै आए पनि गाउँमा अझै केहीमा अशिक्षा र अज्ञानता भएका कारण जनचेतनाको आवश्यकता रहेको गाउँलेहरु बताउँछन् । जिल्लाका सबै गाविसहरुमा पोषण तथा सरसफाईको काम गर्दै आएको सुआहारा नामक संस्था गिलुङ गाउँको सरसफाई गर्ने अभियानमा जुटेपछि हिजोआज आफ्नो गाउँ निकै सुन्दर भएको स्थानिय मालती गुरुङले बताइन् ।
अहिले गाउँमा सरसफाईका दशवटा मुख्य सुचकहरु पुरा गरी आफ्नो घरलाई सफा घर बनाउने अभियान गाविसका ९ वटै वडाहरुमा पुगेको छ । विगतमा धेरै रोग लागेर आत्तिएका गाउँलेहरु अहिले सुखी र स्वस्थ जीवन जिउन पाएकोमा दंग छन् । गाउँबासीहरु आफ्नो ब्यक्तिगत सरसफाई देखि खानेकुरा पकाउने, शौचालय र घर वरिपरिको सरसफाईमा समेत तल्लिन हुने गरेका छन् । गत असोजको पहिलो हप्ताबाट शुरु गरिएको यो अभियानले गाविसका १ सय ९४ घरपरिवार पूर्ण रुपमा सरसफाईयुक्त भएको छ ।
स्थानिय शान्ति आमा समुहले गाउँमा बसोबास गर्ने स्थानियबासिन्दाको स्वास्थ्यमा नकरात्मक असर नपरोस भन्ने उद्धेश्यले गाउँको विभिन्न ३ स्थानमा कटुवाल समेत राखेको छ । वडा नं १ देखि ६ सम्म १ जना, वडा नं  ७ मा १ र वडा नं ८ देखि ९ सम्म हेर्ने गरी १ जना कटुवाल राखेका छन् । दैनिक २ पटक स्वास्थ्य सम्बन्धी जानकारीहरु गाउँलेहरुलाई सुनाउने गरी आमा समुहले ३ जना कटुवालाई पारिश्रमिक दिएर राखेको हो । उनिहरुको पारिश्रमिक दैनिक प्रतिब्यक्ति एक सय रुपैयाँ रहेको छ । यो रकम आमा समुहले समूहका ब्यक्तिबाट उठाएर दिने गरेको छ ।
गाउँलेहरुले गाउँमा प्लाष्टिकजन्य बस्तुहरुको प्रवेश र प्रयोगमा पनि रोक लगाइएको छ । झण्डै १८ सय मिटर उचाइमा रहेको गिलुङ पर्यटकीय एवं धार्मिक दृष्टिकोणले पनि विख्यात छ । यहाँको गुम्बा, मन्दिर, घुमाउने घर र एकै किसिमले बनेका घरहरुको मनोरम दृश्यले आन्तरिक तथा बाह्य पर्यटकहरुको मन लोभ्याइदिने गर्दछ । ०००

Facebook Comments

Related posts

Leave a Comment