आन्दोलन लम्बिदा तराईमा तस्करी मौलायो

तराई विशेष । 
पछिल्लो तीन महिनादेखि आमहड्ताल गरी आन्दोलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितका मधेस केन्द्रित दलहरुको बन्द हड्तालले धनुषा सहित मध्य तराईमा तस्करी संगै कालोबजारी पनि फष्टाएको छ । बन्दका कारण तराईका जिल्लाहरुमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासँ, लताकपडा सहित दैनिक उपभोग्य वस्तुहरुको तस्करी हुने गरेको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, मधेस क्रान्ति संघर्ष समिति, संयुक्त युवा संघर्ष समितिसहित विभिन्न संघसंगठनले बिभिन्न माग राख्दै पछिल्लो तीन महिना देखि आन्दोलित छन् । तस्करहरुले ल्याएको सामग्री कालोबजारी हुने गरेको स्थानीयहरुको भनाई छ । तस्करी र कालोबजारी बढेपछि उपभोक्ता निकै मारमा परेका छन् ।
आन्दोलनकारीहरुले प्रर्दशनको क्रममा ग्रामीण क्षेत्रमा रहेका प्रहरी चौकीहरुलाई लक्षित गरेर आगजनी गरेपछि जिल्ला प्रहरी कार्यालयले उक्त प्रहरी चौकी खाली गराईसकेको छ । ग्रामीण तथा भारतीय सीमा क्षेत्रका प्रहरी चौकीहरु खाली गराईएपछि तस्करहरुले सहजरुपमा भारतीय नाकाबाट मालसमान नेपाल भित्र्याउने गरेका स्थानीयहरु बताउंछन् । उनीहरुले विशेष गरेर रातिको समयमा मालसामान भित्र्याउने गरेको स्थानीयहरुले बताए । तस्करहरुले बन्द हड्तालको मौका छोपेर कालोबाजारी गर्ने गरेका छन् ।
भारतीय सीमाबाट धनुषामा मात्र दैनिक लाखौंको मालसमान नेपाल भित्रिने गरेको एक व्यापारीले बताए । धनुषाको जटही सीमानाकामा नाकाबन्दी गरेर धर्ना दिएपनि तस्करहरुले अन्य नाकाबाट मालसमान ओसारपोसार गर्ने गरेका छन् । यी नाकाबाट तस्करी गरी ल्याइएको पेट्रोल प्रति लिटर पाँच सय सम्म विक्री गर्ने गरेका छन् ।
खाना पकाउने ग्यासँप्रति सिलिण्डर ४ हजार रुपैयाँ सम्म विक्री गर्ने गरेकाले उपभोक्ता निकै मारमा परेका छन् । अनिश्तिकालीन आमहड्तालले झण्डै तीनमहिनादेखि धनुषाका उद्योग,कलकारखाना, यातायात,बजार, शिक्षण संघसंस्था पूर्ण रुपले ठप्प छ ।
यद्यपी,मोर्चाले तस्करी र कालोबजारीलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरु अगाडि ल्याएको जिकिर गरेको छ । तर मोर्चाको यो भनाईको कतै प्रभाव देखिएको छैन, अभाव दिनानुदिन बढ्दा तस्कर र कालोबजारी गर्नेलाई भने मधेश आन्दोलन फापेको झै देखिएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment